भरतपुर,९ साउन
भरतपुर अस्पतालमा सिटी स्क्यान बिग्रिएपछ सेवा बन्द भएको छ । मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या आएकाले केही दिनका लागि सेवा बन्द भएको अस्पतालले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
सिटी स्क्यान मेसिन उपलब्ध गराउने हस्पिटेक इन्टरप्राइजेज प्रालिसँग मेसिनको बार्षिक मर्मत तथा विस्तृत मर्मतको सम्झौता अवधि (४ साउनसम्म) सकिएको चार दिनपछि मेसिन बिग्रिएको हो । मेसिनको ग्राफिक्स कार्डमा नै समस्या आएको अस्पतालका बायोमेडिकल इन्जिनियर तुलसी खनालले जानकारी दिए ।
अस्पतालको सिटी स्क्यान मेसिनबाट दैनिक ४०-५० जना बिरामीले सेवा लिँदै आएका थिए । २०७४ जेठमा ६ करोड ४७ लाख रुपैयाँ खर्चिएर खरिद गरिएको सिटी स्क्यान मेसिन वारेन्टी समय सकिएको पाँच महिनामै बिग्रिएको हो ।
मेसिनमा पटकपटक समस्या आएपछि अस्पतालले सिटीस्क्यान सप्लाई गर्ने कम्पनीलाई नै बर्षको ५० लाख दिने गरेर मर्मत सम्भार सम्बन्धी सम्झौता गरेको थियो । सिटी स्क्यान मेसिनका नाममा अस्पताललाई बर्षोसम्म कम्पनीले ‘दुहुनो गाई’ बनाएको भन्दै अस्पताल भित्रै आलोचनासमेत हुँदै आएको छ ।
अस्पतालमा सिटी स्क्यान गरेको रकम तीन हजारदेखि ९ हजारसम्म तिर्नुपर्छ, अन्य निजीमा ४ हजारदेखि १३ हजारसम्म तिर्नुपर्छ । यसअघि भरतपुर अस्पतालमा सिटीस्क्यान गर्दै आएका बिरामी अब निजी अस्पताल र प्रयोगशालामा जानुपर्ने भएको छ ।