काठमाडौ, ४ साउन
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पछिल्लो पटक गरेको शुल्क वृद्धिको निर्णय स्थगित गरेको छ ।
सीटीईभीटीले बिहीबार सूचना प्रकाशित गर्दै हाललाई शुल्क वृद्धिको निर्णय स्थगित गरिएको जनाएको छ ।
“सरोकारवालाहरूसँगको छलफलपछि मात्रै शुल्क समायोजन गर्नेगरी हाललाई शुल्क समायोजनसम्बन्धी यसअघिको निर्णय स्थगित गरिएको छ” सूचनामा भनिएको छ ।
सीटीईभीटीले शैक्षिक २०८०/०८१ मा निजी कलेजका लागि प्रमाणपत्र तह नर्सिङ (पीसीएल नर्सिङ), प्रमाणपत्र तह सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) र डिप्लोमा इन फार्मेसी (असिस्टेन्ट फार्मासिष्ट) को शैक्षिक शुल्क बढाएको थियो ।
सीटीईभीटीले डेढ लाखसम्म बढायो शैक्षिक शुल्क
असार २९ गते पीसीएल नर्सिङतर्फ एक लाख ४९ हजार २३०, एचएतर्फ एक लाख १९ हजार र फार्मेसीतर्फ ८६ हजार ६६० रुपैयाँ शुल्क तालिका सीटीईभीटीले सार्वजनिक गरेको थियो ।
मन्त्रीस्तरीय निर्णय र शुल्क समायोजनसम्बन्धी कार्यटोलीको सुझावका अधारमा सो निर्णय गरिएको सीटीईभीटीले दाबी गरेको थियो । तर, सरोकारवालाहरूसँगको पर्याप्त छलफल र ठोस आधारबिना शुल्क बढाइएको भन्दै चौतर्फी विरोध भएपछि सीटीईभीटीले सो निर्णय स्थगित गरेको हो ।