चितवन असार २५,
नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वअध्यक्षहरुले शुल्क लिइसकेका सदस्यहरुको सदस्यता नवीकरण गर्न सुझाव दिएका छन् । पत्रकार महासंघ चितवन शाखाको कार्यालयमा गरिएको तालाबन्दीप्रति पूर्व अध्यक्षहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।
छ जना पूर्व अध्यक्षहरुले आज संयुक्त विज्ञप्ति जारी गरी शुद्धीकरणका नाममा महासंघकै संस्थागत विकासमा महत्वपूर्ण योगदान पुयाएका अग्रज र क्रियाशिल पत्रकारहरुको इतिहास मेट्ने गरी तयार गरिएको कार्यविधि परिमार्जन गर्न पनि आग्रह गरेका छन्।
‘नेपाल पत्रकार महासंघ, चितवन शाखाको हकमा महासंघले कार्यविधि तयार हुनुभन्दा अगाडि नै पटक–पटक सूचना प्रकाशित गरी सदस्यहरुसँग विधानतः शुल्क र आवश्यक कागजात मगाएर नवीकरणको रसिदसमेत वितरण गरेको देखिन्छ । यसैले विधानतः प्रक्रिया पुरा गरि नवीकरण गरिसकिएको हो भने विधानबमोजिम नै नवीकरणको प्रकृया कार्यान्वयन गर्न हामी सुझाव दिन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ।
नयाँ सदस्यता र नवीकरणमा देखिएको समस्या तत्काल समाधान गरी महासंघको कार्यालयमा लगाइएको ताला खोल्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षलाई उनीहरुले आग्रह पनि गरेका छन्। पूर्व अध्यक्षहरु महेन्द्र श्रेष्ठ, विष्णु छिमेकी, जनक अर्याल, कृष्ण गिरी, हरिप्रसाद पोखरेल र राधेश्याम खतिवडाले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।
महासंघको सदस्यता नवीकरणका लागि सिफारिसमा असन्तुष्टि जनाउँदै प्रेस चौतारी चितवनले असार २३ गते तालाबन्दी गरेको थियो।