चितवन, कालिका बैशाख १६
कालिका । कालिका नगरपालिकाको मेयरमा नेकपा (एमाले)बाट उमेदवारी दिएका विनोद रेग्मीले कालिकालाई भ्रष्टाचारमुक्त बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । नगरलाई भ्रष्टाचामुक्त बनाएर समृद्ध र समुन्नत बनाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमाले कालिका वडा नं १ ले आज गडुवा चोकमा आयोजना गरेको परिचयात्मक कार्यक्रम तथा कोणसभालाई सम्वोधन गर्दै मेयरका उम्मेदवार रेग्मीले नगरको समुन्नत विकासका लागि एमालेको विकल्प नभएको बताए । हाल नेकपा एमालेकै नेतृत्वबाट चुनिएका जनप्रतिनिधिले कालिकाको विकास र समृद्धिको सुरूवात भएको बताउँदै रेग्मीले अपुरा योजनालाई आफुले पूर्णता दिने बताए ।
शिक्षा, स्वास्थ्य, सडक लगायतका सम्पूर्ण विकास निर्माणका काममा कुनै पनि कमि हुन नदिने उनले बताए । भ्रष्टाचार शून्य नगरपालिका बनाई देशकै उत्कृष्ट, समुन्नत र समृद्ध कालिका बनाउने आफ्नो मुख्य लक्ष्य रहेको समेत रेग्मीले बताए ।
त्यस्तै, कालिका नगरपालिकाको वडा नं ९ मा आज नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) परित्या गरि १७ जना युवा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एकै वडाका कांग्रेसबाट तीन जना र माओवादी केन्द्रबाट १४ जना युवा एमालेमा प्रवेश गरेका नेकपा (एमाले) कालिका–९ का इन्चार्ज रेवती ढकालले जानकारी दिए ।