चितवन – आज हुने भनिएको छैठौं चितवन च्याम्पियनसिपको फाइनल खेल वर्षाको कारण स्थगित भएको छ । गए रातिदेखि नै अविरल वर्षा भइरहेकोले फाइनल खेल असार २० गते बुधबारसम्मका लागि स्थगित गरिएको हो ।
फाइनल खेल अब असार २० गते बुधबार नेपाल प्रहरी शिक्षालयको मैदानमा हुनेछ । १९ गते मंगलबारसम्म नै वर्षा हुने भएकोले क्लब र अफिसियलहरुसँगको छलफलपछि फाइनल खेल बुधबारका लागि सार्ने निर्णय भएको आयोजक एभरेष्ट क्लब चितवनका अध्यक्ष प्रेमबहादुर गुरुङ (गोपाल) ले जानकारी दिए ।
उनका अनुसार २० गते बुधबार दिउँसो ३ बजे समापन समारोह हुनेछ । खेल दिउँसो ३:३० बजे हुनेछ । उपाधिका लागि गैंडाकोट फुटबल क्लब र सूर्यपुर फुटबल क्लब भिड्नेछन् । गैंडाकोट रड्स रामपुर तथा सूर्यपुर आयोजक एभरेष्ट क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।