चितवन, असार १५ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा धान रोपेर धान दिवस मनाएका छन् ।
भरतपुर महानगरपालिका २४ मा रहेको केरुङ्गा सामुहिक तरकारी कृषि फर्ममा आयोजित कार्यक्रममा ओली र ओली पत्नी राधिका शाक्यले धान रोपे ।
मेशिनले रोपेपछि ओलीले हातले धान रापेका थिए । धान रोप्न केरुङ्गा पुग्नु अघि बिहान धान दिवसको अवसरमा विशेष संवोधन गर्दै ओलीले सम्पूर्णलाई धान दिवसको शुभकामना दिए ।
धान दिवसको शुभकामना दिँदै ओलीले राष्ट्रिय अन्न धानलाई तीव्र गतिमा बढाउनु पर्ने आवश्यकता रहेको औंल्याए
नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले पनि देशलाई गलाउन नसकेको उनको भनाइ थियो । उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको भन्दै यसतर्फ सबैको ध्यान पुग्नुपर्ने बताए ।
चितवन उर्वर जिल्ला भएको बताउँदै उनले चितवनबासीसँग धान उत्सव मनाउन, धान रोप्न र यसको सन्देश देशभर नै दिन भनेर आफू चितवन आएको उनको भनाइ थियो । धान रोपिसकेपछि ओलीले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरुसँग अन्र्तक्रिया कार्यक्रम गरेका छन् ।
धान दिवस मनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि चितवन पुगेका छन् । चितवनमा आयोजित विभिन्न कार्यक्रम, पार्टीको वडा कार्यालय उद्घाटन गरेर सकेपछि लामिछाने धान दिवस मनाउन भरतपुर २३ पुगेका छन् । कसरामा आयोजित धान रोपाईं कार्यक्रममा उनी धान रोपाईंमा सहभागी भए ।
यसैगरी जसपाका नेता डा बाबुराम भट्टराई पनि धान दिवस मनाउन चितवन पुगे । भरतपुर २० मा आयोजित धान दिवसको कार्यक्रममा उनी सहभागी भए ।