भरतपुर, १४ असार–
बिहीबार दिउँसोदेखि अवरुद्ध रहेको नारायणगढ – मुग्लिङ सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित सडकखण्डको तीन नम्बर पुल नजिकै सुक्खा पहिरो खस्दा दिउँसो १स्०५ बजेदेखि बाटो अवरुद्ध छ ।
सडक बिभागसँग समन्वय गरी एक्जाभेटर र डोजरको प्रयोगबाट पहिरो सफा गर्ने काम भैरहँदा बेलाबेलामा पहिरो खसिरहेकोले पहिरो सफा गर्न कठिनाई भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिमा पनि पहिरो पन्छाउने कामलाई निरन्तरता दिइने प्रहरीले बताएको छ । पहिरो झर्न रोकिए सफाइको काम एक घण्टामा सकिने पनि प्रहरीले जानकारी दिएको छ । बाटो अवरुद्ध भएपछि गाडीहरू नारायणगढ र मुग्लिङ तर्फै रोकिएका छन् । पहिरो नजिकै रोकिएका यात्रुहरू समस्यामा परेका छन् ।
बिहीबार बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घण्टा अवरुद्ध भएको थियो । बर्खा लागेसँगै नारायणगढ–मुग्लिङ सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ ।
यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन अवतजावत गर्छन् ।