चितवन, बैशाख ११ –
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले बैशाख १५ भित्र पोल भाडा तिर्न इन्टरनेट तथा केबल प्रदायक कम्पनीहरुलाई आग्रह गरेको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्ग काठमाडौंले आज देशभर लागु हुने गरी एउटा सूचना निकालेको छ । उक्त सूचनामा १५ दिनभित्र अर्थात बैशाख मसान्तसम्म पोल भाडा तिर्न आह्वान गरिएको छ । १५ दिनभित्र पोल भाडा नतिर्ने कम्पनीहरुको सबै कार्यालयमा विद्युत कटौती गर्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।
सो सूचनालाई कडाइका साथ लागु गर्न विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र लागि परेको छ । वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले चितवनमा ३ वटा कम्पनीले पोल भाडा तिर्न बाँकी रहेको बताए । १५ दिनभित्र पोल भाडा नतिरेमा ती कम्पनीको कार्यालयमा पुगेर विद्युत लाइन काटिने उनको भनाइ छ । उनका अनुसार चितवनमा पोल भाडा नतिर्नेमा क्लासिक टेक, सिम टिभी र भाय नेट रहेका छन् ।
लामो समयदेखि पोल भाडा नतिरेपछि विद्युत प्राधिकरण इन्टरनेट तथा केबल प्रदायक कम्पनीविरुद्ध कडाइका साथ प्रस्तुत भइरहेको छ ।
पोल भाडा नतिर्नेहरुलाई नयाँ विस्तारमा रोक लगाइएको छ । उक्त कडाइकै फलस्वरुप चितवनमा पछिल्लो १ वर्षभित्रमा १६ वटा कम्पनीले पोल भाडा तिरि सकेका छन् । उक्त नियम अहिले पनि लागु छ । तर सो नियमले मात्र सबै कम्पनीबाट रकम उठाउन नसकिएपछि प्राधिरकणले १५ दिने यो अल्टिमेटम जारी गरेको हो ।