चितवन, जेठ ३-
प्रयोगकर्तामाझ लोकप्रिय भइरहेको राइड सेयरिङ सेवा चितवनमा पनि भित्रिने क्रम बढ्दै गएको छ ।
तीब्र शहरी विकाससंगै जनसंख्या पनि बढ्दोक्रममा रहेको चितवनमा काठमाडौंमा जस्तै गरी राइड सेयरिङ व्यावसाय फस्टाउदै गएको हो ।
एक महिना अघिदेखि चितवनमा उक्त सेवा दिन सुरु गरेको ‘आयो युजर’को प्रयोगकर्ता चितवनमा बढ्दै गएको पाइएको हो । ‘आयो युजर’ संचालक कम्पनी भरोसा नेटवर्किङ प्रालिका बजार प्रमुख नेत्र किराँतीका अनुसार एक महिनाको अवधिमा जिल्लामा २७ सयभन्दा बढीले सेवा लिएका छन् । अहिले ४७५ वटा बाइक र १२५ वटा अटोले चितवनमा सेवा दिइरहेको छ ।
हाललाई पुर्बी चितवनको भण्डारासम्म, उत्तरको कालिका र जुगेडीसम्म, पश्चिम चितवनको जगतपुर, गोलाघाटसम्म र नवलपुर प्रवेश गरेपछि ७ किलोमिटरसम्म सेवा प्रदान भैरहेको किराँतीले जानकारी दिए ।
यस सेवा अन्तर्गत मोबाईल एप ‘आयो युजर’ प्रयोग गरेर बाइक र आटो बोलाई तोकिएको रकम तिरेर आफ्नो गन्तव्यमा पुग्न सकिने छ ।
२ महिना अघि काठमाडौंबाट उक्त सेवा सुरु गरेको कम्पनीको लोकप्रियता बढदै गएको र एप्स धमाधम डाउनलोड भैरहेको किराँतीको भनाई छ ।
यात्रुले एपमा गएर हेरेपछि आफू जानलागेको गन्तव्यसम्मको भाडा, आफू नजिक रहेको बाइक वा अटो पत्ता लगाउन सक्नेछन् र त्यही एप्सबाट आफू भएको ठाउमा बोलाउन सक्नेछन् ।
‘आयो’ को सेवा २४ सै घण्टा संचालन हुनेछ । सबैकुरा अनलाईन बाट अनुगमन भैरहने र चालकहरुको सम्पुर्ण कागजात कम्पनीसंग हुने भएकाले कुनै डर न मानी रातिको समयमा पनि ढुक्क भएर सेवा लिन सकिने कम्पनीको भनाइ छ ।
यात्रु, चालक र सवारी साधनका लागि कम्पनीले विमा समेत गरेको जनाएको छ ।
भाडदर बाइकको प्रतिकिलोमिटर १८ रुपैयाँ तोकिएको छ । अटोको ५४ रुपैयाँ प्रति किमि रहेको छ जसमा सिट क्षमाता अनुसार आफ्ना मानिस बस्न सकिने छ ।
प्रोमो कोड आयो ५५ प्रयोग गरी पहिलो पाँच राइडसम्म ७० प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ । पाँच राइडपछि प्रोमो कोड चितवन २५ प्रयोग गर्दा प्रत्येक राइडमा २५ प्रतिशत छुट पाइनेछ ।