भरतपुर – विवाहका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरुको प्रर्दशन वेडिङ एक्स्पो चितवनमा हुने भएको छ । दाताज इभेन्ट्सको आयोजनामा हुने वेडिङ एक्स्पोमा तिस भन्दा बढी स्टलहरु रहने र ति स्टलहरुमा विवाहका लागि अवश्यक सम्पूर्ण जानकारी लिन सकिने आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
एक्स्पोमा ३० भन्दा बढी स्टल रहने दाताज इभेन्ट्सका प्रमुख दाताराम घिमिरेले बताउनु भयो । विवाहमा चाहिने फोटोग्राफी, भिडियोग्राफी, कपडा, हनिमुन प्याकेजलगायत सम्पूर्ण वस्तु तथा सेवा एक्स्पोमा उपलब्ध हुने उहाँले बताउनु भयो ।
एक्स्पोको विभिन्न सेलिब्रेटीले अवलोकन गर्ने, म्युजिकल कन्सर्ट हुने, दुलही मेकअप प्रतिस्पर्धा, अवलोकनर्तालाई गिफ्टलगायत वस्तु तथा सेवाको बुकिङ गर्दा भारी छुट पाइने उहाँको भनाइ छ ।
दोस्रो संस्करणको वेडिङ एक्स्पो चैत २३ गतेदेखि २५ गतेसम्म होटल सिराइचुलीमा गर्न लागिएको आयोजकले जनाएको छ । यसअघि २०७६ सालमा दाताज इभेन्ट्सले पहिलो पटक नारायणी नदी किनारमा वेडिङ एक्स्पो गरेको थियो । त्यसैलाई निरन्तरता दिने उदेश्यले दोस्रो एक्स्पो गर्न लागिएको घिमिरेले बताउनु भयो ।