माधव सापकोटा
चैत्र ४ ,चितवन लक्ष्मीवैकुण्ठनाथ मन्दिर, भरतपुर -४, धर्मचोक , लङ्कु, चितवनद्वारा संचालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ गत माघ २१ देखि फागुन ६ गतेसम्म संचालित १५ दिने लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ को आय-व्यय आज सार्वजनिक भएको छ।
गुरुकुल परिसरमा आज एक भेला गरी आय व्यय विवरण प्रस्तुत गरिएको हो। महायज्ञमा नगद र बोलकबोल गरी जम्मा ३,३३,५४,६८६ ।- रकम उठेको , ४१,९५,४२१।- रकम खर्च भएको , महायज्ञमा खर्च कटाएर २,९१ , ५९,२६५।- रकम बचत भएको महायज्ञ सम्पादन मूल समितिका कोषाध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिनुभयो।
महायज्ञको शेष रकमलाई अक्षयकोषमा राखी त्यसको ब्याजले गुरुकुल संचालन गरिने गुरुकुल संचालक समितिका अध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो ।भेलामा गुरुकुलका प्रधान संरक्षक स्वामी जगन्नाथाचार्य, महायज्ञका सह -संयोजक एवम् बेलायतका लागि नेपाल सरकारका पर्यटन सद्भावना दूत सोम सापकोटा , मन्दिरका संस्थापक भूपतिदास सापकोटा , गुरुकुलका सल्लाहकार कलाधर अर्याल,भरतपुर -४ का निवर्तमान वडा अध्यक्ष हरिप्रसाद आचार्य , गुरुकुलका पूर्व प्राचार्य दामोदर सापकोटा , गुरुकुल संचालक समितिका पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटा ,छात्रावास निर्माण उपभोक्ता समितिका संयोजक हीरामणि खराल लगायतको उपस्थिति रहेको थियो।
२०४४ सालमा स्थापना भएको सो गुरुकुलमा हाल कक्षा ६ देखि कक्षा १२सम्म पठन-पाठन संचालन भइरहेको छ। गुरुकुलमा देशका विभिन्न क्षेत्रबाट आएका ५५ जना विद्यार्थीहरूले आवासभोजनसहित नि: शुल्क शिक्षा लिइरहेका छन् ।