हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन २९–
वीरेन्द्र क्याम्पस सहित चितवनका विभिन्न क्याम्पसमा लागेका ताला खोल्नका लागि जिल्ला प्रशासन कार्यालय चितवनले अल्टिमेटम जारी गरेको छ ।
आज जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको क्रियाशिल राजनिति दल र सुरक्षा निकायका प्रमुखहरुको बैठकले क्याम्पसमा लागेका तालाहरु फुटाएर भए पनि स्ववियु निर्वाचन गराउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनको जारी सूचनामा भनिएको छ–‘स्ववियु निर्वाचनको सन्दर्भमा क्याम्पसहरुमा लागेको तालाबन्दी हटाउन सम्बन्धिन राजनीतिक दलहरुले आ–आफ्ना विद्यार्थी संगठनहरुलाई निर्देशन गर्ने तथा सोही बमोजिम गर्न अन्य सरोकारवालाहरुलाई आग्रह गर्ने, जिल्ला प्रशासन कार्यालयबाट फागुन ३० गते विहान ६ बजेभित्र क्याम्पसहरुमा लागेको तालाबन्दी हटाउन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने र सो अवधिसम्म तालाबन्दी नहटाएमा सुरक्षाको निकायको तर्फबाट तालाबन्दी हटाई निर्वाचन प्रक्रियालाई अघि बढाइने ।’
यस्तै चितवन प्रशासनले सम्पूर्ण क्याम्पस व्यवस्थापनहरुलाई तोकिएकै मिति चैत ५ गते नै स्ववियु निर्वाचन गर्न सो अघिका विभिन्न क्रियाकलाप र गतिविधिहरुको संक्षिप्त प्रक्रिया अवलम्बन गरी सम्पन्न गर्न अनुरोध गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।
निर्वाचनलाई सम्पन्न गर्न सुरक्षा निकायहरुबाट समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाउने प्रशासन कार्यालयले जनाएको छ ।
विभिन्न माग राख्दै असन्तुष्ट विद्यार्थीले विभिन्न क्याम्पसमा तालाबन्दी गरेका छन् । निर्वाचन प्रणाली नै फेर्न माग राख्दै गरिएको तालाबन्दी निर्वाचन बिरोधि गतिविधि मात्र भएकाले तालाबन्दी फुटाउन लागिएको हो ।
















