– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन २७ – त्रिविको आंगिक वीरेन्द्र बहुमुखी क्याम्पस स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी भएपछि आज ११ बजेबाट सुरु हुने भनिएको उम्मेद्वारी दर्ता अनिश्चित बनेको छ । नेपाल समाजबादी विद्यार्थी यूनियन र लोकतान्त्रिक विद्यार्थी संघ जिल्ला कमिटीले स्ववियु निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने माग राख्दै आज दिउँसो स्ववियु कार्यालयमा तालाबन्दी गरेपछि उम्मेद्वारी दर्ता रोकिएको हो ।
नेपाल समाजबादी विद्यार्थी यूनियन जिल्ला कमिटीका विपिनचन्द्र रेग्मी र लोकतान्त्रिक विद्यार्थी संघ जिल्ला कमिटीका प्रशन्न न्यौपानेद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्ति ढोकामा टासिएको छ । साझपख विभिन्न ६ संगठनले ३ बुदे माग राख्दै अर्को विज्ञप्ति पनि टासेका छन् । विज्ञप्तिमा भनिएको छ संघ संगठन समुह दर्ताको अन्तिम सुची यथासिघ्र प्रकाशित गर्नुपर्ने, अस्पष्ट रहेका बिषयमा संयुक्त विद्यार्थी संगठनको परामर्शमा समाधान गर्नुपर्ने र स्ववियु निर्वाचन २०७९ सम्पन्न गर्नुपर्ने जिम्मेवारी लिनुपर्ने छ ।
तर, पनि विद्यार्थी र क्याम्पस निर्वाचन समितिबीच सहमति नहुँदा ताला खुलेको छैन । जसले गर्दा उम्मेदवारी दर्ता प्रक्रिया प्रभावित भएको छ । चैत्र ५ गते हुने भनिएको चुनाव नहुने संभावना बढ्दै गएको छ । आज उम्मेद्वारी दर्ता हुन नसके ५ गते चुनाव गराउन गाह्रो हुने भएकाले विद्यार्थी संगठनहरुलाई सहमतिमा आइदिन क्याम्पस प्रशासनले आग्रह गरेको छ ।
क्याम्पसमा २१ वटा संगठनहरुले आफ्नो नाम दर्ता गराएका छन् । संगठनहरु हालसम्म एकल उम्मेद्वारी दिने मनस्थितिमै छन् । २१ सदस्यीय स्ववियु कमिटीमा २ पदाधिकारीसहित १० सदस्यीय समानुपातिक र तीन पदाधिकारीसहित ११ सदस्यी प्रत्यक्ष उम्मेद्वार दिने प्रणाली छ । पूर्ण समानुपातिक गर्ने व्यवस्था नरहेकाले यो माग पूरा गर्नै नसकिने क्याम्पस प्रमुख दयाराम पौडेलले जानकारी दिए ।