काठमाडौं फागुन २६,
नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपतिमा लैंगिक रुपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकमा सहभागी नेताहरूले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने सुझाव दिएको उनले बताए ।
उनले आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरूले पहल गर्नुपर्ने अभिव्यक्ति रहेको बताए ।
“उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रुपले फरक र सामुदायिक फरक भन्ने छ,” उनले भने, “नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो । हामीले परामर्श दिनुपर्दा लैंगिक रुपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ ।”
महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार विस्तार हुने बताए ।















