चितवन – माडी नगरपालिकामा गठित वडास्तरीय युवा सञ्जालहरुको भेलाबाट नगरस्तरीय युवा सञ्जाल गठन भएको छ । माडीमा सञ्चालन हुन लागेको नमुना युवा सांसद अभ्यास कार्यक्रममा सहभागिता समेत हुनेगरी २३ सदस्यीय नगरस्तरीय युवा सञ्जाल गठन भएको हो ।
त्यस्तै नमुना युवा संसद अभ्यास कार्यक्रममा सहभागिताका लागि ३३ जना नमुना युवा सांसदहरुको समेत चयन भएको छ । छनौट भएका युवा नमुना संसदहरुलाई फाल्गुन २२ र २३ गते प्रशिक्षण भई २४ गते प्रस्तुतिकरण हुने कार्यतालिका रहेको छ ।
कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले युवाहरु खेलकुदमा मात्रै नभई सिर्जनात्मक कार्य र नेतृत्व विकासमा समेत लाग्नुपर्ने तथा नमुना युवा सांसद अभ्यासले भोलिको नेतृत्व एवं नीति निर्माताहरु तयार गर्ने विश्वास लिएको बताईन् ।
माडी भिलेज रिसोर्टको सभाहलमा सञ्चालन भएको सो कार्यक्रममा राष्ट्रिय युवा परिषद्का सदस्य सचिव एवं प्रशासकीय प्रमुख रमाकान्त शर्माले विशेष प्रशिक्षण गरेका थिए । कार्यक्रम स्वदेश मिडिया क्लबका अध्यक्ष देव नारायण शाहको अध्यक्षतामा नवयुवाहरुको उल्लेख्य सहभागिताबिच सम्पन्न भएको हो ।
राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुर, जिल्ला युवा समिति चितवन र माडी नगरपालिकाको सहयोगमा स्वदेश मिडिया क्लबले नमुना युवा संसद अभ्यास कार्यक्रमको आयोजना एवं व्यवस्थापनको जिम्मेवारी लिएको छ ।