सन् १९०८ मा न्यू योर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि बीजारोपण भएको थियो।
त्यसको एक वर्षपछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गर्यो।
उक्त दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार चाहिँ क्लारा जेटकिन नामकी कम्युनिस्ट अभियानकर्मी र महिला अधिकारवादी महिलाले अगाडि सारेकी थिइन्।
उनले उक्त विचार कोपेनहागनमा कन्फरेन्स अफ वर्किङ विमिन नामको सन् १९१० मा भएको सम्मेलनमा सुझाव दिएकी थिइन्। त्यो सम्मेलनमा १७ देशका १०० जना महिला सहभागी थिए। र उनीहरूले त्यस सुझावलाई सर्वसम्मत रूपमा सहमति जनाएका थिए।
त्यो पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्यान्डमा मनाइएको थियो। त्यसको सयौँ वर्ष सन् २०११ मा मनाइएको थियो।
सन् १९७५ मा संयुक्त राष्ट्र सङ्घले त्यसलाई मनाउन सुरु गरेपछि नारी दिवस औपचारिक रूपमा अन्तर्राष्ट्रिय बन्न पुग्यो। राष्ट्र सङ्घले पहिलो नारा “सेलेब्रेटिङ द पास्ट, प्लानिङ फर द फ्युचर अर्थात् विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने” भन्ने राखेको थियो।
अन्तर्राष्ट्रिय नारी दिवस महिलाहरू समाजमा कति अगाडि बढे, राजनीति र अर्थतन्त्रमा कति अगाडि बढे भनेर मनाउने दिवस बनेको छ। विद्यमान असमानताबारे चेतना बढाउन कतै विरोध प्रदर्शन, जुलुस, सभा, सम्मेलन आदि गरेर यो दिवस मनाउने गरिन्छ।
अन्तर्राष्ट्रिय नारी दिवसको सबैमा हार्दिक शुभकामना ।
फोटो: क्लारा जेटकिन (क्लारा जेटकिनले सन् १९१० मा अन्तर्राष्ट्रिय नारी दिवस प्रस्ताव गरेकी थिइन् ।)










