विराटनगर फागुन २२,
राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ । मुख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेयाङ्वो पाटीको प्रशिक्षणका लागि काठमाडौं गएका छन् । उनीहरू एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताउनका लागि काठमाडौं गएका हुन् । एमालेबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा राष्ट्रियसभा सदस्यको भेला सोमवार काठमाडौंमा भएको छ ।
पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य सुसुरालीमा होली मनाउन काठमाडौं गएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ हुन् । उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला पनि काठमाडौं पुगेका छन् । उनी राप्रपाका हुन् ।
प्रदेशका २ मन्त्री भने प्रदेशकै भूगोलमा छन् । भौतिक पूर्वाधारमन्त्री दुर्गाप्रसाद चापागाईं आगलागी पीडितलाई राहत वितरण गर्न तेह्रथुम गएका छन् ।
केही दिनअघि तेह्रथुमको आठराई–६ चुहानडाँडास्थित हात्तिखर्कमा आगलागी भएको थियो । आगलागी भएको मन्त्री चापागाईंको निर्वाचन क्षेत्र पनि हो ।
स्वास्थ्य मन्त्री निर्मला लिम्बु ताप्लेजुङमा छिन् । ताप्लेजुङ उनको गृहजिल्ला हो ।
केन्द्रीय सत्ता गठबन्धनका सांसदलाई राष्ट्रपति चुनावबारे प्रदेशमै प्रशिक्षण दिइएको थियो । राष्ट्रपति निर्वाचनमा पूर्व सभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । पौडेललाई निर्वाचित गराउनका लागि नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी गरी ८ दलको समर्थन छ । नेम्वाङलाई नेकपा एमालेले अघि सारेको छ ।
८ दलीय गठबन्धनले कोशी प्रदेशका प्रदेशसभा सांसदलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिएको थियो । कोशी प्रदेशका प्रदेशसभा सदस्यको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य महेश रेग्मी लगायतका नेताले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेललाई भोट हाल्न आग्रह गरेका थिए ।
एमालेले सातै प्रदेशका प्रदेश सांसदलाई काठमाडौं बोलाएर प्रशिक्षण दिएको छ ।
मन्त्रालयकै काम समेत काठमाडौंमा भएकाले २ दिनअघि काठमाडौं आएको मन्त्री भक्ति सिटौलाले बताए । उनले प्रदेशमा हुने काम मन्त्री अभावकै कारण नरोकिने बताए ।
संघीयताका कुरा गर्ने अनि भेला तथा छलफल पनि संघीय राजधानीमै गरिनुले संघीयतालाई दलहरूले कसरी बुझिरहेका छन् भन्ने पुष्टि गर्ने निवर्तमान मुख्यमन्त्री राजेन्द्र राईले बताए । ८ दलीय गठबन्धनमा रहेका प्रदेशसभा सदस्यहरू पनि हतार गरेर काठमाडौंमा गएका छन् ।
कोशी प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् भने एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।










