चितवन, फागुन २२ –
न्यु होराइजन इङ्लिस स्कुल भरतपुरमा विद्यार्थीहरुलाई फोहोरलाई बेकारबाट आकार बनाउन सिकाइएको छ ।
स्थानीय पाठ्यक्रममा आधारित रहेर सिकाइलाई प्रभावकारी बनाउने अभिप्रायका साथ व्यवहारिक तथा सैद्धान्तिक पद्धतिमा फोहोरको वर्गीकरणका साथै फोहोरलाई उपयोगी स्रोतको रुपमा लिएर बेकारबाट आकारमा परिणत गर्दै विभिन्न उपयोगी सामग्रीहरु बनाउन सकिन्छ भन्ने कुराको ज्ञान र सीप दिने एक दिने कार्यक्रम गरिएको हो । कार्यक्रममा श्रीरेन्द्र प्रकाश पोख्रेलले तालिम दिएका थिए ।
विद्यार्थीहरुलाई नकुहिने फोहोरबाट कसरी ब्याग, सजावटका सामग्री लगायतका वस्तु बनाउन सकिन्छ र कुहिने फोहोरबाट कसरी मल बनाउन सकिन्छ भनेर सिकाइएको स्कुलका शिक्षक शिसिर तिमिल्सनाले चितवन आजलाई जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर घिमिरेको समेत उपस्थिति रहेको उक्त सिकाई कार्यक्रम प्रभावकारी बनेको विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन् ।