काठमाडाैं फागुन २१,
प्रधानमन्त्री एवं (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशस्थित माओवादी केन्द्रको संसदीय दलका नेतालाई निर्देशन दिएका छन् ।
कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहलाई बहुमत पुर्याउन माओवादीको मत आवश्यक पर्ने देखिएपछि प्रचण्डले संसदीय दलका नेता खगराज भट्टलाई यस्तो निर्देशन दिएको जानकारी प्रचण्डका प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए ।
‘प्रदेशमा सरकार बन्ने संवैधानिक प्रक्रिया र व्यवस्थाअनुसार पनि हामीले विश्वासको मत दिनुपर्ने अवस्था देखिएको छ,’ तिमल्सिनाले लोकान्तरसँग भने, ‘केन्द्रमा सरकार पुनर्गठनको अभ्यासमा प्रदेशमा पनि एउटा समझदारी पुग्नुपर्ने हुन्छ । अहिले विश्वासको मत दिनुस्, सत्ता साझेदारीको विषयमा थप छलफल गर्दै जाउँला भनेर अध्यक्षले सुदूरपश्चिमस्थित माओवादी संसदीय दलका नेता खगराज भट्टलाई निर्देशन दिनुभएको छ ।’
५३ सदस्यीय सुदूरपश्चिम सरकारमा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र १/१ सांसद छन् । १९ सीट रहेको कांग्रेसलाई माओवादीबाट सभामुखबाहेक १० सांसदको समर्थन भए सहजै बहुमत पुग्नेछ ।
मुख्यमन्त्री शाहले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।
यसअघि नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि एमाले नेतृत्वको सुदूरपश्चिम सरकार एक महिनामै ढलेको थियो ।
यसपटक पनि कांग्रेसलाई माओवादीले साथ नदिए निर्णायक उन्मुक्ति नै देखिएको थियो ।
उन्मुक्तिले पनि विश्वासको मत दिन जेलमा रहेका आफ्ना नेता एवं संरक्षक रेशम चौधरीको रिहाइ, सत्तामा सम्मानजनक उपस्थितिसहितका विषयमा बार्गेनिङ गरिरहेको छ ।