काठमाडौं फागुन १४,
सन्दीप लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न माग गरिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।
यस्तै, लामिछानेका तर्फबाट क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित परेको निवेदनमा पनि सुनुवाइ हुँदै छ । यी दुवै निवेदनमाथि न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा संयुक्त रूपमा सुनुवाइ हुन लागेको हो ।
लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । जिल्ला अदालतले लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो ।
तर, उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाउँदै लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उच्च अदालतको प्रमुख सर्तमध्ये लामिछाने नेपालबाहिर जान नपाउने पनि एक हो ।
उच्चको आदेशविरुद्ध सरकारी वकिल तथा लामिछाने दुवैका तर्फबाट सर्वोच्चमा निवेदन दिइएको छ । लामिछानेलाई थुनामै राख्न सरकारी वकिलको माग छ । उच्चको आदेश खारेज गरी विदेश जान पाउनुपर्ने लामिछानेका तर्फबाट माग गरिएको छ ।