काठमाडौं फागुन ११,
गएको सोमबार साँझ सुनसरीको धरान उपमहानगरपालिका–१७, आदर्शचोकस्थित एउटा घरमा खाना पकाउने ९एलपी० ग्यास ‘लिक’ भयो । चुल्होमा सिलिन्डर जोड्ने क्रममा ग्यास लिक हुँदा आगलागी भयो । आगलागीमा परी आठजना घाइते भए ।
त्यसअघि, यही फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित एक घरमा खाना पकाउने ग्यास लिक भई आगलागी भएको थियो । आगलागीमा परी प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भयो । चन्द्र भण्डारीको भारतको मुम्बईस्थित अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, फागुन ४ गते दाङको तुलसीपुर उपमहानगरपालिका–१६, लहलौरामा एलपी ग्यास लिक भई आगलागी हुँदा दुईजना घाइते भए । खाना पकाउने क्रममा आगलागी भएको थियो ।
गएको माघ २७ गते धनुषाको हंसपुर नगरपालिका सुगानिकाशस्थित एक घरमा ग्यास लिक भई आगलागी भयो । खाना पकाउने क्रममा भएको उक्त आगलागीमा परी एक महिला घाइते भइन् । आगो निभाउने क्रममा उनका श्रीमान् समेत जलेर घाइते भएका थिए । ती पुरुषको उपचारका क्रममा फागुन ५ गते मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पछिल्ला तीन महिनामा यीसहित ग्यास लिकका कारण आगलागीका ३४ घटना भएका छन् । ती घटनामा परी तीनजनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।
अग्नि नियन्त्रक किशोरकुमार भट्टराईका अनुसार चुल्होमा ग्यास लिक भएर आगो सल्किन सक्छ । रेगुलेटरबाट ग्यास चुहिएर पनि आगलागी हुनसक्छ ।








