काठमाडौं, फागुन ४-
खाना पकाउने ग्यास सिलिन्डर लिक भएर नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको घरमा लागेको आगोले हाम्रो भान्छा कति सुरक्षित छ भन्ने प्रश्न फेरि टड्कारो रूपमा उठेको छ।
म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन। उपभोक्ताले ग्यास बिक्रेताबाट जुन मितिको सिलिन्डर प्राप्त भयो, त्यही सिलिन्डर थपक्क भान्छामा प्रयोग गरिरहेका छन् र खतरा निम्त्याइरहेका छन्।
बुधबार राति बुद्धनगरस्थित घरमा भएको उक्त घटनामा सांसद भण्डारी गम्भीर घाइते भएका छन् भने उनकी आमा हरिकलाको मृत्यु भएको छ। सांसद भण्डारीलाई उपचार निम्ति भारतको मुम्बई लगिँदै छ। उनको शरीरको ३० प्रतिशत भाग जलेको छ।
उपभोक्ताले सबैभन्दा बढी सचेत हुनपर्ने विषय ग्यास सिलिन्डरको म्याद सकिएको छ कि छैन भनेर थाहा पाउनु हो।
तर उपभोक्ताले सहजै सिलिन्डरको म्याद थाप पाउन सक्ने अवस्था भने छैन। म्याद हुन्छ तर सांकेतिक रुपमा राखिएको हुन्छ। एक पटक सांकेतिक भाषालाई बुझेपछि सहजै ग्यास सिलिन्डरको आयु कतिसम्म हो भनेर थाह पाउन सकिन्छ।
सिलिन्डरको माथिल्लो भागमा हुने संकेत अंकहरूलाई हेरेर सिलिन्डरको म्याद सकिएको हो वा होइन थाह पाउन सकिन्छ।

जस्तै माथिको तस्बिरमा सिलिन्डरको समात्ने भागनेर अंग्रेजी अक्षरमा ‘डी ३०’ लेखिएको छ। त्यसको अर्थ त्यसको आयु सन् २०३० को डिसेम्बरसम्म मात्र हुन्छ।
त्यस्तैगरी सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ‘ए’,’बी’, ‘सी’, ‘डी’सँगै २०, २१, २२, २३, २४, २५ लगायतका अंकहरू लेखिएका हुन्छन्। ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ले महिनालाई संकेत गरेको हुन्छ भने अंकले वर्षलाई संकेत गरेको हुन्छ।
उदाहरणका लागि ‘ए-२३’ लेखिएको छ भने त्यो सिलिण्डरको आयु २३ को मार्च महिनासम्म मात्रै हो। यसको अर्थ ‘ए’ले अंग्रेजी महिनाको जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ। ‘बी’ले अप्रिल, मे र जुनलाई जनाउँछ। यसैगरी ‘सी’ले जुलाई, अगष्ट र सेप्टेम्बरलाई साथै ‘डी’ले अक्टोबर, नोभेम्बर र डिसेम्बरलाई जनाउँछ। जस्तै तपाईंको भान्छामा रहेको सिलिन्डरमा ‘सी-२३’ राखिएको छ भने त्यो सिलिन्डरको आयु २०२३ सेप्टेम्बर सम्म मात्रै हो।
तर यसका लागि पनि उद्योगले सिलिन्डरको भल्ब मर्मत गरेर प्रयोग गर्न पाउँदैन। नयाँ भल्ब नै परिवर्तन गर्नु पर्छ। अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति (म्यानुफ्याक्चर्ड डेट) बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ। तर पहिलो पटकमा नै २० वर्षको मिति राख्न पाइँदैन। पहिलो पटक १० वर्षको मात्रै मिति राख्नु पर्छ। त्यसमा पनि हरेक पाँच-पाँच वर्षमा ५/५ वर्षमा हाइड्रोलिक टेष्ट गरेको हुनु पर्छ।








