काठमाडौं फागुन ४
काठमाडौंको बुद्धनगरमा बुधबार राति ग्यास लिक हुँदा भएको आगलागीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भए ।
भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा निधन भएको छ ।
भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । चन्द्रको शरीर ३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चन्द्रका दुवै हात गोडा र अनुहार जलन भएको छ ।
स्वास नलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको अस्पतालका चिकित्सकद्वय डा. किरण नकर्मी र डा. निजिना ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास लिक हुँदा भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।प्रहरीका अनुसार राति करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार बिजुलीको स्वीच अन गर्दा आएको स्पार्कका कारण घटना भएको प्रारम्भिक निस्कर्ष छ ।
उनले भने, “खाना खाइसकेपछि ग्यास लिक भएर गन्ध आएको रहेछ । त्यसपछि भान्सामा गएर स्वीच अन गर्दा त्यसैको स्पार्कका कारण आगलागी भएको प्रारम्भिक निस्कर्ष छ । भान्सामा को गएको हो भन्ने खुलेको छैन् ।”








