– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन २ –
चितवनको माडीमा कान्तिपुर सामुहिक खेती कार्यक्रम प्रभावकारी नहुँदा राज्यको करोडौं रकम बालुवामा पानी खनाए झैं भएको छ ।
बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सामुहिक खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत माडी नगरपालिका ८ कान्तिपुरमा सामुहिक खेती कार्यक्रम गर्ने भनि राज्यबाट करोडौं रकम अनुदान लिएको सूर्याेदय कृषि सहकारीले उद्देश्यअनुसार काम गर्न सकेको छैन ।
२०७५ सालमा माडीको कान्तिपुरमा सामुहिक खेती कार्यक्रम सुरु गरिएको थियो । उक्त कार्यक्रमको तत्कालिन कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका थिए । सहकारीले त्यस कार्यक्रम अन्तर्गत राज्यका विभिन्न निकायबाट ५ करोडभन्दा बढी अनुदान लगेर काम गर्न नसकेको हो ।
कृषि ज्ञान केन्द्र चितवन, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि विकास निर्देशनालय हेटौंडा र माडी नगरपालिकाबाट त्यहाँ करोडौं रकम अनुदान गएको छ । कार्यक्रम अन्तर्गत अन्नबाली, तरकारी खेती, पशुपालन, माछापालन र कृषि पर्यटन रहेको छ ।
सामुहिक खेती गर्न कृषि ज्ञान केन्द्र चितवनले कम्बाइण्ड हार्बेस्टर, ट्रयाक्टर, मिनि ट्रेलर, कल्टि भेटर, कर्नट्रेलर, थ्रेसर लगायतका कृषि उपकरणहरु दिएको छ । ती उपकरणहरु अहिले खिया लागेर नष्ट हुने क्रममा पुगेका छन् । पहिलो वर्ष प्रयोगमा ल्याइएका ती उपकरण त्यसपछि सञ्चालन हुन नसकेको स्थानीय सुशिला गायक बताउँछिन् ।
कृषि पर्यटन अन्तर्गत त्यहाँ ४६ वटा होमस्टे बनाएर सञ्चालन गर्ने भनिएको थियो । तर ती होमस्टेको निर्माण कार्य अझै सकिएको छैन । होमस्टेका लागि माडी नगरपालिका र कृषि विकास निर्देशनालय हेटौंडाबाट ५० प्रतिशत अनुदान गइसेकेको छ । काठको अभाव र समुदायले लगानी गर्न नसक्दा घरहरु बन्न नसकेको माडी नगरपालिकाकी प्रमुख ताराकाजी कुमारी महत्तोले बताइन् । उनले सहकारीको बँचावट गर्दैै त्यहाँ राज्यबाट अझै सहयोग आवश्यक रहेको बताएकी छिन् ।
पशुपालन अन्तर्गत सामुहिक पशुपालन गर्ने भनिएकोमा त्यहाँ अहिले सामुहिक पशुपालन छैन । पहिलो वर्ष सामुहिक पशुपालन गरे झैं गरेर सहकारीले रकम भुक्तानी लियो त्यसपछि पशुहरु बेचेर पशुपालन नै बन्द गरिएको छ ।
चक्लाबन्दी गरेर सामुहिक रुपमा अन्नबाली र तरकारी खेती गर्ने भनिएकोमा अहिले त्यहाँ त्यसो हुन सकेको छैन । आधाजसो जग्गामा अहिले खेती नै भएको छैन । चक्लाबन्दीका क्रममा एउटा गरामा जजसको जग्गा परेको छ । उनीहरु मिलेर आफ्नै पाराले त्यहाँ अहिले खेती भइरहेको छ । खेती पनि खासै फस्टाएको देखिँदैन । चक्लाबन्दी गर्ने भनिएको ठाउँ गौचरणमा परिणत हुँदै गएको देखिन्छ । चक्लाबन्दी पछि झन् उब्जनी कम हुन थालेको किसान ज्ञानबहादुर गन्धर्बले बताए ।
एउटै खेती हुनुपर्नेमा त्यहाँ थरी थरीका खेती गरिएका छन् । तकारी खेती पहिलो वर्ष गरेपछि दोश्रो वर्षबाट बन्द भएको छ । तरकारी खेतीका लागि बनाइएका टनेलहरु हावाले उडाएर बिजोग अवस्थामा छन् । त्यसको मर्मत गर्ने जिम्मा सहकारीको भए पनि मर्मत गरिएको छैन ।
माछापालनका लागि २० वटा पोखरी खनिएका छन् । तर अहिले आधाजसो पोखरीहरु सुकेका छन् । केही पोखरीमा फ्याट्टफुट्टमात्र माछा छन् । पोखरीका डिलहरु जंगलमा परिणत भइसकेको छ ।
स्थानीयहरुले सामुहिक खेतीबाट फाइदा नभएको बताएका छन् । सामुहिक खेती गर्दा पनि उब्जनी भएका कृषि उपजहरु बिक्रि हुन नसकेको स्थानीय मैना आचार्यको गुनासो छ । माछा बेच्न पनि समस्या भइरहेको र जसका लागि सहकारीले कुनै सहयोग नगरेको अचार्यले बताइन् । सहकारीले नसकेपछि किसानहरुले अहिले आफैआफै खेती गर्न थालेका स्थानीय उषा गायक बताउँछिन् ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले मेशिनरी समानको सञ्चालन गर्ने, मर्मत गर्ने, व्यवस्थित गर्ने सम्पूर्ण जिम्मेवारी सहकारीको हुने बताए । यद्यपि राज्यको सम्पती खेर जान नदिन ज्ञान केन्द्रले पनि आवश्यक पहल चाल्ने उनको भनाइ छ । त्यहाँका किसानहरुले आफूले गर्नै नसक्ने काम आँट्दा यो समस्या आएका बताए । योजना बनाउँदा नै गलत ठाउँ छनौट गरिएको हो की भन्ने प्रश्न यति खेर उब्जिएको उनले बताए । यसलाई अब प्रभावकारी बनाउन लागिपर्ने उनको भनाइ छ । कान्तिपुरमा अनुदान दिने बेलामा कृषि ज्ञान केन्द्र चितवनमा राजन ढकाल कार्यालय प्रमुख थिए ।
कुनै योजना बिना नै काम गर्न सक्छु भनि राज्यलाई झुक्याउने व्यक्ति शिवजी गायक अर्थात सूर्याेदय कृषि सहकारीका प्रबन्धकले आफूहरुले काम गर्न खोज्दा खोज्दै असफल भएको बताए । करोडौं रकम अनुदान लगेको गायकले राज्यबाट अनुदान रकममा पनि कमि आएको बताए । त्यसैगरी समुदायका तर्फबाट उठाउनु पर्ने रकम समयमा उठाउन नसक्दा काम भनेअनुसार हुन नसकेको बताए । तर खेती बाँझै रहेका, किसानहरुले आफ्आफ्नै पाराले खेती गरिरहेको कुरामा उनले स्पष्ट जवाफ दिन सकेनन् ।