काठमाडौँ माघ २९
नेपाल चिकित्सक संघले देशभर स्वास्थ्य सेवा अवरुद्ध गर्ने निर्णय फिर्ता लिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमति भएको हाे ।
शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेको थियाे ।
वार्तामा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयमा सहमति भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधिहरु र चिकित्सक संघको तर्फबाट नेतृत्व डा. लोचन कार्की, महासचिव डा बद्री रिजाल, डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्षहरुको सहभागिता थियो।








