काठमाडौं, माघ २२-
टीकापुरकाण्डमा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले आइतबार प्रत्यर्थी ९प्रतिवादी० झिकाउने आदेश दिएको छ ।
आफू निर्दोश रहेको भन्दै चौधरीले सर्वोच्चमा जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका थिए । सोही निवेदनमाथि आइबार न्यायाधीश टंक मोक्तान र मनोज शर्माको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।
कैलाली जिल्ला अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष, एक जनालाई ६ महिना र तीन जनालाई सफाइ हुने फैसला गरेको थियो । त्यसपछि रेशम पुनरावेदन लिएर उच्च अदालत दिपायल गएका थिए । उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला सदर गरिदिएको थियो । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् ।
७ भदौ २०७२ मा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ बालक मारिएका थिए । सोही मुद्दामा चौधरी दोषी ठहर भएका हुन् ।








