बारा, माघ २१-
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुन सक्ने आशंका गरेका छन् ।
विगतमा संविधानले नचिनेपनि राष्ट्रपति कार्यकारी बन्न खोजेको देखिएको भन्दै फेरि एमालेकै उम्मेदवारलाई राष्ट्रपति चुने संवैधानिक अभ्यास ठूलो अप्ठेरो र दुर्घटनामा जाने उनले बताए ।
बाराको कलैयामा शनिबार नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता थापाले भने, ‘हेर्दा सामान्य विषय लाग्छ । तर अहिले नेपाल कम्युनिष्ट पार्टीका नेताले खल्तीबाट निकाल्ने नामलाई बहुमतको आधारमा नेपालको राष्ट्रपति बनाउने हो भने दावाका साथ भन्न सकिन्छ । यो पाँचवर्षको संवैधानिक अभ्यास ठूलो अप्ठेरो र दुर्घटनामा जान्छ ।’
एमालेको नेताले खल्तीबाट नाम निकालेर आफूले कज्याउन सक्ने, आफ्नो आदेश मान्ने, आदेश पालक एउटा व्यक्तिलाई अघि सार्ने उनको दावी छ । त्यो व्यक्तिलाई अहिलेको सत्ता गठबन्धनको बहुमतले राष्ट्रपति बनाए अलग्गै शक्तिकेन्द्रको अभ्यास गर्ने उनको भनाइ छ ।