काठमाडौं, माघ १९-
बारा। करार सेवाका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई निकाल्न सिम्रौनगढ नगरपालिकाले नगर अस्पतालको ओपिडी बाहेक अन्य सेवा अनिश्चितकालको लागि बन्द गराएपछि कर्मचारीले गरेको ताबन्दीका कारण अस्पतालको सबै सेवा बन्द भएको छ ।
नगरपालिकामा रहेको एउटामात्र सुविधासम्पन्न अस्पतालको सेवा ठप्प बनेपछि स्थानीय सेवाग्राही प्रभावित बनेका छन् । नगरपालिका स्वास्थ्य शाखाको आदेशमा अस्पतालको ओपिडिबाहेक अन्य सेवा अनिश्चितकालको लागि बन्द रहने सूचना गरिएको थियो।
स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरले सोमबार सूचना निकालेर आदेशअनुसार ओपीडी (बहिरंग) बाहेकका सबै सेवा अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिए।
आन्दोलनरत करारका कर्मचारीले स्वास्थ्य शाखाको निर्णय विरुद्ध ओपीडि संचालनमा पनि रोक लगाएपछि अस्पतालको सबै सेवा बन्द भएको छ।
करार कर्मचारीको अवधि थप गर्ने विषयमा लामो समयदेखि विवाद झेल्दै आएको नगरपालिकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई निकाल्न अस्पतालको सेवा नै बन्द गरेको कर्मचारीहरुले बताएका छन्।उनीहरुले आफूहरुलाई निकाल्न भएको षडयन्त्रको विरोधमा ओपिडी सेवा पनि बन्द गर्नुपरेको बताएका छन्।