सप्तरी । डिजेल लोड भएको ट्याङकर चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कञ्चनपुर नगरपालिका–९ बस्ने २९ वर्षीय नबराज भुजेल र चोरीको डिजेल खरीद गर्ने खडक नगरपालिका–७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षीय श्याम कुमार साह रहेका छन् ।
नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट माघ ११ गते बिहान को–१ ख ३६५५ नम्बरको टयाङ्करमा २० हजार लिटर डिजेल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरतर्फ लैजाने क्रममा टयाङ्करका चालकले माघ ११ गते साँझ कञ्चनरुप नगरपालिका ८ स्थित रहेको बिकि पम्पमा पार्किङ्ग गरी आफ्नो घर गएकोमा बेला ट्याङकर चोरी भएको र माघ १५ गते बिहान शम्भुनाथ नगरपालिका–२ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको भन्ने खबर पाए पछि खटिएको प्रहरीले टयाङ्कर जाँच गर्दा टयाङ्करको ५ वटा च्याम्बरमा रहेको २० हजार लिटर डिजेलमध्ये १६ हजार लिटर चोरी भएको अवस्थामा फेला पारेको थियो ।
घटनाको आवश्यक अनुसन्धानको क्रममा नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरका कर्मचारी तथा नेपाल प्रहरी समेतको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
नबराज भुजेल समेतले माघ १४ गते राति पार्किङ्ग गरेको स्थानबाट डिजेल लोड भएको टयाङ्कर चोरी गरी १६ हजार लिटर डिजेल बिक्री गरेको र श्याम कुमार साहले चोरी भएको डिजेल खरिद गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।








