माधव सापकोटा
माघ १७ ,चितवन
भरतपुर-४, धर्मचोक, लंकुस्थित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ माघ २१ देखि फागुन ६ गतेसम्म हुने श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ नजिकिँदै जाँदा सहयोगीहरूको उत्साह वृद्धि हुँदै गइरहेको छ ।
हिजो आयोजना गरिएको बृहत् भेलामा थप १२ लाख रकम बोलकबोल भएको छ। आजसम्म झण्डै ६८ लाख रकम बोलकबोल भएको महायज्ञ सम्पादन मूल समितिका कोषाध्यक्ष रामप्रसाद कंडेलले जानकारी दिनुभयो ।
यस्तै महायज्ञको उद्घाटन हुने दिन भन्दा अघिल्लो दिन २० गते दिउसो २ बजे हुने मोटर साइकल र्यालीका लागि नाम टिपाउन थुप्रै युवाहरूले चासो देखाएको र अहिले यज्ञमण्डप, हवनशाला, ज्ञानमञ्च निर्माण एवम् गाउँ -गाउँमा उपसमिति गठन आदि गर्ने कार्य भइरहेको मूल समितिका सह- सचिव डा. गोपीनाथ कंडेलले बताउनुभयो।