काठमाडौं, माघ १२-
चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मंसिरसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मंसिर मसान्तसम्म सार्वजनिक ऋण आन्तरिक र वाह्य गरी उक्त रकम बराबर पुगेको हो । यो असार मसान्त अर्थात् अघिल्लो आर्थिक वर्ष २०७८ र ७९ को ९गत असारसम्मको० तुलनामा भने ७ अर्ब रुपैयाँ कम हो ।
असार मसान्तसम्म सार्वजनिक ऋण २० खर्ब १३ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । मंसिरसम्मको तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण प्रतिव्यक्तिमा भाग लगाउने हो भने ६८ हजार ७५५ रुपैयाँ पर्न आउँछ ।
यो कुल सार्वजनिक ऋणलाई २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसारको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० ले भाग गर्दा आएको नतिजा हो ।
गत असारभन्दा मंसिरमा सार्वजनिक ऋण कम हुनुमा पहिलो चौमासिकमा सरकारले गरेको सावाँरब्याज भुक्तानी तथा थप चालु आर्थिक वर्षमा लक्ष्यअनुसार ऋण प्राप्ति भइनक्नु कारण हो ।
सरकारले चालु आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
यो बजेटका लागि स्रोत व्यवस्थापन गर्ने माध्यमका रुपमा २ खर्ब ४२ अर्ब २६ करोड वैदेशिक ऋण र २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य छ । तर, मंसिर मसान्तसम्म २९ अर्ब ५७ करोड बाह्य ऋण र १७ अर्ब ५० करोड आन्तरिक ऋण उठेको छ ।
सरकारले यस मंसिरसम्म कुल ४७ अर्ब ७ करोड रुपैयाँ थप ऋण लिएको छ ।