चितवन, माघ ११-
चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको “सिएमसी क्यान्सर इन्स्टिच्यूट” ले भोली (बिहिबार)बाट औपचारिक रुपमा सेवा दिने भएको छ ।
आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी क्यान्सर इन्स्टिच्युटको भोली (बिहिबार) एक कार्यक्रमकाबीच उद्घाटन भएसँगै सेवा दिने जनाएको हो ।
“सिएमसी क्यान्सर इन्स्टिच्यूट” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
“सिएमसी क्यान्सर इन्स्टिच्यूट” ले नेपाल सरकारले तोकेको विपन्न उपचार शुल्कमै क्यान्सरको उपचार गर्ने जनाएको छ ।
अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी दररेटमा नै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिने भएको हो ।

अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् । यी सबै सेवाहरु नेपाल सरकारले तोकेको शुल्कमा गरिंदै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रताप देवकोटाले जानकारी दिए ।
इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन् । दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको उनको भनाई छ ।
क्यान्सर इन्स्टिच्यूटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक देवकोटाले जानकारी दिए ।
सरकारी क्यान्सर अस्पतालमा रेडिएसन सहितको उपचारका लागि महिनौं पालो कुर्नुपर्ने भए पनि सरकारले तोकै दररेटमै आफूहरुले सेवा दिने उनको भनाइ छ । अस्पतालमा एमआरआई, सिटीस्क्यान, मेमोग्राम, स्पेक्टसिटी, बोन स्क्यानर, इण्डोस्कोपी, भिडियो एक्सरे, एक्सरे, ईसिजि, क्याथल्याब, ए ग्रेडको प्रयोगशाला, आईसियू, एनआईसियू, सिसियू रहेका छन् ।
क्यान्सर उपचारका लागि अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शैयाको क्यान्सर इन्स्टिच्युट स्थापना गरिएको हो ।
चितवनमा देशका विभिन्न भागसहित भारतबाट समेत क्यान्सरका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।






