काठमाडौँ, ९ माघ –
“लाहुरे बुबाको कर्मथलो हङ्कङमा जन्मिएर ब्रुनाइमा हुर्केको म एकै पटक गाउँमा पुग्दा कस्तो भए होला ? जब म गाउँमा पुगेँ, ब्रुनाइको बर्गर सम्झँदै बासी भातमा नुन छर्केर खाएँ”, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विगत सम्झिएर भावुक हुनुभयो ।
भोजपुरको टेम्के डाँडा नजिकबाट वायुसेवा निगमको जहाज निस्कियो । मन्त्री किरातीको घरपारिबाट निस्किएको उक्त जहाजको गन्तव्य पहिल्याउँदा भोजपुरको डाडाँ काटेर सङ्खुवासभाको तुम्लिङ्टार उडेको रहेछ । पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेको छ दिनपछि आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नयाँ सडकस्थित मुख्यालयमा निगमको निरीक्षण र गतिविधिबारे जानकारी लिँदै पर्यटनमन्त्री किरातीले निगमसँगको संयोगका केही सन्दर्भ कोट्याउँदै विगत सम्झेर निकै भावुक बन्नुभएको हो । निगमका कर्मचारी र सञ्चारकर्मीको भीडमा भावुक मुद्रामा किरातीले भन्नुभयो, “जहाज आउँदा खुसी हुन्थेँ, जहाजले छाडेर जाँदा म रुन्थेँ’ र त्यही जहाज सम्झेर मेरो आमालाई भन्थेँ, गाउँमा नबसौँ आमा ।”
शायद त्यो बेला, हप्ता दिनमा एक पटक निगमको विमान भोजपुरको डाँडा भएर उड्थ्यो होला । सुविधासम्पन्न सहर, गाडी र जहाजको भीडमा हुर्किएका मन्त्री किरातीलाई त्यतिबेलाको जहाजको आवत–जावतले निकै रुवाउँथ्यो । उहाँले भन्नुभयो, “मलाई त्यो बेला रुवाउँथ्यो निगमको विमानले र मैले भन्थेँ आमालाई जाऊँ हङ्कङ ।”
भोजपुरको ओख्रेमा जन्मिएका पर्यटनमन्त्री किरातीका बुबा हर्कबहादुर राई ब्रिटिस लाहुरे हुँदा बुबाको कर्मथलो हङकङमा जन्मेर ब्रुनाइमा हुर्किनुभयो । लाहुरेको छोरा बाल्यकालमा कुनै चीजमा कमी थिएन । सुविधासम्पन्न मुलुकमा हुर्केको व्यक्ति एकैचोटि दुर्गम गाउँमा ओर्लँदा किरातीलाई अनौठो लाग्नु स्वाभाविक थियो ।
मन्त्री किरातीले आफू तेस्रो पटक सांसद हुँदै मन्त्री बनेर संयोगवश निगमको विभागीय मन्त्रीको जिम्मेवारीमा आइपुगेको बताउनुभयो । उहाँले दोस्रो पटक सांसद भएर पर्यटन र परराष्ट्र मन्त्रालयसँग सम्बन्धित संसदीय समितिमा बसेर काम गर्दा नै निगमको अवस्था बुझ्न पाएको सुनाउनुभयो । “अब यही जहाजको कारणले अब मलाई रुन नपरोस् सबैको ध्यान वायुसेवा निगमप्रति छ । म हाँस्न चाहन्छु”, उहाँले भन्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका मन्त्री किरातीले यो वा त्यो पदमा पुग्छु भनेर राजनीति पनि गर्नुभएको हैन । तर, समय र परिस्थितिले मन्त्रीको जिम्मेवारी स्वीकार्नुभएको छ । उहाँ भन्नुहुन्छ, “वडाध्यक्ष पनि हुन्छु भनेर राजनीतिमा लागेको हैन, तर, मन्त्री भए । मैले मेरो जिम्मेवारी बुझेको छु, यो मेरो जीवनको अग्निपरीक्षा हो ।”
राज्यको गौरवमय संस्था डुबेको आफू टुलुटुलु हेर्न नसक्ने भन्दै ऐन, कानुन विधिसम्मत संस्था सुधारका लागि लागि पर्ने बताउनुभयो । उहाँले कुनै पनि भेदभाव नगरी निगमको कामलाई चुस्त र प्रभावकारी बनाउन लागिपर्ने विश्वास व्यक्त गर्नुभयो । अरू दुनियाँ एयरलाइन्स नाफामा जाने तर निगम सधैँ घाटामा रहरिहनुपर्ने स्वीकार्य नहुने भन्दै निगम सुधार्न सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । – रासस








