काठमाडौं, माघ ६-
रसुवागढी–केरुङ नाका माघ २० गतेसम्मका लागि बन्द भएको छ ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रुअरी ३ सम्म नाका बन्द गरेको जानकारी दिए ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार करिब एक महिना अवधिमा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ ।
उनले भने, ‘नेपालबाट अहिलेसम्म करिब रु छ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको छ । चीनबाट भने दैनिक १४ कन्टेनर सामान नेपाल आउने गरेकोमा आजबाट त्यो पनि बन्द भएको छ। ‘
रसुवागढी–केरुङ नाकाबाट हुने व्यापारमा पनि चीनले लामो समय रोक लगाएको थियो । कोभिड महामारीपछि ठप्प प्रायः रहेको उक्त नाका गत पुस दोस्रो साताबाट खुलेको थियो तर व्यापारमा भने उल्लेख्य सुधार देखिँदैन ।
नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ ।
दुई देशबीच व्यापारका लागि सञ्चालनमा रहेका दुई भन्सार नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी स्वभाविक अवस्थामा फर्किन सकेका छैनन् भने अन्य जिल्लामा खोल्न प्रस्ताव गरिएका नाकाको कार्यप्रगति नगण्य छ ।
सामान्य अवस्थामा दुई देशबीच वार्षिक रु साढे दुई खर्बभन्दा बढीको वैदेशिक व्यापार रहेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ तर चीनसँगको व्यापारमा जोडिएका नेपालका दुई भन्सार कार्यालय तातोपानी र रसुवागढीको अवस्था पछिल्ला वर्षहरुमा निकै कमजोर छ ।
विसं २०७२ को भूकम्पपछि थलिएको सिन्धुपाल्चोकको तातोपानी नाका अझै लयमा फर्किन सकेको छैन । भूकम्प अघि वार्षिक रु डेढ खर्ब बराबरको कारोवार तातोपानी भन्सार बाट हुन्थ्यो । जसबाट सरकारले वार्षिक करिब रु छ अर्ब राजस्व उठाउने गरेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ ।