काठमाडौं, माघ ५-
स्याङ्जाको वालिङमा फुटबल प्रतियोगिता भइरहेको मैदानमा एक्कासी हेलिकप्टर अवतरण भएपछि तनाव भएको छ ।
वालिङ गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको अवस्थामा एक्कासी प्रभु कम्पनीको हेलिकप्टर अवतरण भएको हो । धुलो उडाउँदै हेलिकप्टर अवतरण भएपछि खेल केहीबेर रोकिएको छ ।
खेल नै रोकिने गरी जानकारीविना हेलिकप्टर अवतरण गराएको भन्दै समर्थक र आयोजकले आक्रोश व्यक्त गरेका छन् । केही समर्थकले पाइलट र यात्रुलाई हातपात गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीको सुरक्षापछि केहीबेरमा हेलिकप्टर उडेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रविन्द्र खनालले जानकारी दिए । पाइलटले भने यात्रुले जबरजस्ती अवतरण गर्न लगाएको बताएका छन् ।








