चितवन, २७ पुस –
नारायणी नदीकिनारमा सञ्चालित १४औँ चितवन महोत्सवमा गायिका अस्मिता अधिकारीलाई चितवन दर्शकले साथ दिएका छन् ।
महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत बुधबार स्टेजमा उक्लिएकी अधिकारीलाई दर्शकहरुको साथ मिलेको हो । गायिका अधिकारीले स्टेजमा गीत गाउँदा सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पुगेका दर्शकहरुले उनको स्वरमा स्वर मिलाउँदै साथ दिएका महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए ।
गायिका अधिकारीले सांस्कृतिक कार्यक्रममा ‘तिम्रो मायाले बाँधेर राख….’, ‘साली तिम्रो जोबन कल्ले लाने हो..’, ‘को होला त्यो मसँग आँखा जुधाउने…’ लगायतका गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएकी थिइन् । यसैगरी, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत नै कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का तथा सन्दिप क्षेत्रीको समेत प्रस्तुती रहेको प्रधानले बताए । त्यस्तै लाइभ व्याण्ड प्रतियोगितासमेत भएको प्रधानको भनाइ छ ।
महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत घैला नृत्य, कौडा नृत्य, झ्याउरे नृत्य, सोरठी नृत्यलगायतका मौलिक गीतहरुमा नृत्यसमेत प्रस्तुत गरिएको प्रधाले बताए । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत बिहीबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने प्रधानको भनाइ छ । बिहीबारको सांस्कृतिक कार्यक्रममा कलाकार अमर बिरही गुरुङ, राधिका हमाल तथा हास्य कलाकारहरु सुरेन्द्र केसी (मुलाको साग), शिवशंकर रिजाल (जोगेन्दर पान वाला) लगायतका कलाकारहरुको प्रस्तुती रहने प्रधानले जानकारी दिए ।






