चितवन, २७ पुस –
नारायणगढको नारायणी नदीकिनारमा सञ्चालन भइरहेको चितवन महोत्सव आज तेस्रो दिन ३० हजार मानिसले अवलोकन गरेका छन् । चितवन महोत्सव टिकट व्यवस्थापन समितिका संयोजक राजन पियाले जानकारी दिए ।
पुस २५ गतेदेखि सुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने छ । आज तेस्रो दिनसम्म आइपुग्दा करिब ५० हजार जनाले महोत्सव अवलोकन गरेका पियाको भनाइ छ । महोत्सवमा अवलोकनकर्ताहरुको उपस्थिति बढ्दो क्रममा रहेको उल्लेख गर्दै आगामी दिनमा अवलोकनकर्ता अझै बढ्ने पियाले बताए ।
महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सव अवधिभर महोत्सव स्थिलभित्र विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहने जानकारी दिए । उनले पुस ३० गते खेल पर्यटन सम्बन्धी गोष्ठी र सोही दिन बिहान साइकल ¥याली हुने बताए । माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषि सम्बन्धि गोष्ठी हुने ओलीको भनाइ छ । चितवन महोत्सव अन्तर्गत पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको छ ।
उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष एवं प्रदर्शक व्यवस्थापन समिति संयोजक सुमनकुमार श्रेष्ठले महोत्सवमा ४५० वटा स्टल रहेको भन्दै सबै स्टलहरुको बीमा गरिएको बताए । महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको समेत श्रेष्ठको भनाइ छ । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको भन्दै श्रेष्ठले बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको बताए ।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।






