चितवन, २६ पुस –
चितवन महोत्सव स्थलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दुई सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन र एनपिएल समाज कल्याण संस्थासँगको सहकार्यमा महोत्सव अवलोकनका लागि आउने व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य एवं स्वास्थ्य समिति संयोजक धनप्रसाद पोखरेलकाअनुसार स्वास्थ्य शिविरमा सुगर एवं रक्तचापको परीक्षण गरिएको थियो । त्यसैगरी, स्वास्थ्य शिविरबाट जुकाको औषधि, टाउको दुखेको औषधि तथा सिटामोल उपलब्ध गराइएको पोखरेलले जानकारी दिए । स्वास्थ्य कार्यालय चितवन र औषधि व्यवसायी संघ चितवनको सहयोगमा औषधिसमेत निःशुल्क वितरण गरिएको पोखरेलले बताए ।
महोत्सवस्थलभित्र २७ र ३० गते रक्तदान कार्यक्रम, २८ र २९ गते निःशुल्क दन्त परीक्षण तथा रक्तचाप परीक्षण तथा माघ ३ गते आँखा शिविर सञ्चालन गरिने पोखरेलले बताए । चितवन महोत्सव अवलोकनका लागि जाने जोकोही अवलोकनकर्ताले निःशुल्क स्वास्थ्य परीक्षण गराएर लाभ लिनसक्ने पोखरेलको भनाइ छ । स्वास्थ्य शिविरमा उपलब्ध औषधिहरु बिरामीलाई निःशुल्करुपमा प्रदान गरिएको समेत पोखरेलले जानकारी दिए ।















