खोटाङ,पुस २० –
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई फाइवर सिरक प्रदान गरेको छ । उपमेयरसँग महिला कार्यक्रम अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ५० जना ज्येष्ठ नागरिकलाई फाइबर सिरक प्रदान गरिएको हो ।
जाडो मौसममा ओढ्ने न्यानो कपडाको प्रवन्धका लागि ८२ वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई फाइबर सिरक प्रदान गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख इरन राईले बताए ।
फाइबरको सिरक पाउँदा बृद्धबृद्धा हर्षित भएका छन् । नगरपालिकाले फाइबर बाँड्ने भएपछि वृद्धवृद्धा लठ्ठी टेक्दै वडा कार्यालय लफ्याङमा आइपुगेका थिए । कार्यक्रम स्थलमा आफै उपस्थित हुन नसकेका वृद्धबृद्धालाई आफन्तमार्फत फाइबर उपठाइएको लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले बताए ।
ज्येष्ठ नागरिकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, लफ्याङका वडाध्यक्ष घिमिरेलगायतले फाइबर सिरक हस्तान्तरण गरेका थिए ।








