काठमाडौँ,पुस २०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न निर्देशन दिनुभयो । तर, प्रधानमन्त्रीको निर्देशनपछि पनि मोबाइलमा गरिएको कडाइ हटेको छैन ।
प्रधानमन्त्रीले निर्देशन दिएको ३ दिनपछि अमेरिकाबाट फर्केका डीएल नेम्बाङले ल्याएको थप एकथान मोबाइल त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको छ । आफ्नो मोबाइल जफत गरिएको नेम्वाङले बताएका छन् । त्रिभुवन विमानस्थलको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले थप एकथान मोबाइल जफत नगरिएको दाबी गरेका छन् । पोखरेलले भने–‘थप एकथान मोबाइल जफत गरेका छैनौँ, भन्सार तिरेर लैजानु भनेका छौँ ।’
‘हामी २०७७ जेठ १५ मा जारी आदेशलाई फलो गरिरहेका छौँ, प्रधानमन्त्रीको निर्देशनपछि सो नियम संशोधनको चरणमा रहेका हुनाले अहिले सङ्क्रमणकालीन अवस्था छ ।’ अर्थ मन्त्रालयले २०७७ जेठ १५ मा गरेको निर्णय अनुसार व्यक्तिगत प्रयोगको मोबाइल १ वटा सम्म ल्याउन पाइन्छ । त्यसभन्दा बढी मोबाइल ल्याएमा भन्सार महसुल लाग्छ । तर, भन्सारका कर्मचारीले थप मोबाइल जफत गर्ने गरेको गुनासो छ ।
प्रधानमन्त्रीले निर्देश गरेपछि २०७७ जेठ १५ मा जारी आदेश संशोधन नहुँदा समस्या भएको बताउँछन्, प्रमुख भन्सार प्रशासक पोखरेल । उनी भन्छन्–‘हामी २०७७ जेठ १५ मा जारी आदेशलाई फलो गरिरहेका छौँ, प्रधानमन्त्रीको निर्देशनपछि सो नियम संशोधनको चरणमा रहेका हुनाले अहिले सङ्क्रमणकालीन अवस्था छ ।’








