चितवन, पुष १८–
चितवनको कालिका नगरपालिका र नेपाल पत्रकार महासंघ चितवन शाखाबीच दुर्घटना बीमासम्बन्धी सम्झौता भएको छ ।
नगरपालिकाद्धारा पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुको १० लाखको दुर्घटना बिमा गर्ने गरी सम्झौता भएको हो ।
कालिकाका नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
पत्रकार सामूहिक दुर्घटना बिमा कार्यविधि–२०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर आज महासंघसँग सम्झौता गरेको नगरप्रमुख रेग्मीले बताए ।
उनका अनुसार यस सम्झौताबाट पत्रकार र पत्रकारका परिवार लाभान्वित हुने छन् ।
यो बिमाअन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको पत्रकारको परिवारलाई १० लाख र घाइते हुने पत्रकारको उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बिमा गरिनेछ ।
नगरपालिकाले कार्यविधि नै बनाएर आगामी दिनमा पत्रकारहरुको १० लाख रुपैयाँको दुर्घटना बिमा गरेको हो ।