४ पुस, धनगढी –
कैलालीको अत्तरियामा आइतबार साँझ सुनचाँदी व्यवसायी विकास गौतम (सुनार) माथि गोली प्रहार गर्ने समूहले ३५ तोला सुन र २ लाख रुपैयाँ लुटपाट गरेको छ ।
अत्तरिया बजारबाट पसल बन्द गरेर गोदावरी नगरपालिका–१ वनखेत घरतर्फ मोटरसाइकलमा फर्किरहेका बेला गौतममाथि मोटरसाइकलमा आएका दुई जना बन्दुकधारीले गौतममाथि गोली प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घाइतेको भनाइ अनुसार उक्त परिणामको सुनका गरगहना र नगदसहितको झोला लुटपाट भएको हो ।
तर गौतममाथि गोली प्रहार गरेर लुटपाटमा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन । ‘घटना भए लगतैदेखि हामीले संलग्नको खोजी गर्ने कामलाई तीव्र बनाएका छौँ तर अहिलेसम्म ती व्यक्ति को थिए ? भन्ने बारे जानकारी पाइएको छैन’, डीएसपी जोशीले अनलाइनखबरसँग भने, ‘प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट टोली खटाइएको छ । घटनामा जानकारी दिर्नैपर्ने खालको प्रगति भएको छैन ।’
प्रहरीले व्यवसायी सुनारले सञ्चालन गर्दै आएको सुन पसलदेखि घटनास्थल सम्मको सीसीटीभी फुटेज संकलन गरेर विश्लेषण गरिरहेको छ तर गोली प्रहार भएको सशस्त्र प्रहरी क्याम्प अगाडि सीसीटीभी क्यामेरा नभएका कारण अनुसन्धानमा समस्या भएको बताएको छ ।
गोली प्रहारबाट घाइते भएका गौतमको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ ।








