काठमाडौं, पुष २-
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन्।
निर्वाचन आयोगले प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको विवरण पेश गरेपछि राष्ट्रपति भण्डारी परामर्शमा छिन्। आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो।
‘निर्वाचन आयोगले बिहीबार प्रतिनिधिसभाको विवरण बुझाएपछि राष्ट्रपतिज्यू परामर्श गर्दै हुनुहुन्छ’, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीले भने ‘शनिबार बिदा भएकाले अब कार्यालय खुलेको दिन उहाँबाट सरकार गठनका लागि आह्वान हुनसक्छ।’
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा छन्।








