तनहुँ, मङ्सिर २९ –
तनहुँमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–४ प्रगती टोलमा डेरा गरी बस्ने ४० वर्षीय मन बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बुधबार राति साढे ९ बजे श्रीमती ३६ वर्षीया शुशिला बिकले मादक पदार्थ सेवन गरी घरायसी कुरामा विवाद हुँदा ढुङ्गा प्रहार गर्दा श्रीमान मनबहादुरको मृत्यु भएको जानकारी दिनुभयो ।
प्रनाउ खड्काका अनुसार ढुङ्गा प्रहारबाट गम्भीर घाइते हुनुभएको मनबहादुरको उपचारको क्रममा बुधबार राति ११ बजेको तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित गिरीजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो ।
घटनामा संलग्न श्रीमती शुशिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।