दाङ, मंसिर २७-
दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
हिरासतमा रहेका घोराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न आएकी उनकी श्रीमती शान्ति घर्ती खड्का १२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार हिरासतमा रहेका खड्का तीन दिनअघिमात्र लागुऔषधसहित पक्राउ परेका थिए ।
सोमबार बिहान ७ बजे हिरासतमा रहेका श्रीमानलाई भेट्न भन्दै शान्ती जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । फलफूल लिएर श्रीमानलाई भेट्न गएकी उनलाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको हो ।
‘हिरासतमा श्रीमानलाई भेट्न आएको बेला चेकजाँच गर्दा केराभित्र लुकाएको अवस्थामा लागुऔषध भेटियो,’ प्रहरी नायव उपरीक्षक गौतमले भने ।
गौतमका अनुसार उनी लागुऔषध दुर्व्यसनी रहेका आफ्ना श्रीमानलाई हिरासतभित्र लागुऔषध दिने उद्देश्यले पुगेकी थिइन् ।








