हिरालाल आचार्य ‘Diamond’
चितवन, मंसिर २६ –
चितवन गार्डेन रिर्साेटमा बिहे भोज खाएका २०० जना भन्दा बढी बिरामी भएका छन् । रिर्साेटमा २३ गते शुक्रबार भोज खाएकाहरु बिरामी भएर अहिले उपचार गराइरहेका छन् ।
नवलपुरको गैंंडाकोट १ का गणेश ढकाल र भरतपुर १० की सरष्मिा अधिकारीका बिहेमा संलग्न भएका ५२६ जनामा २०० भन्दा बढी बिरामी भएका हुन् । अधिकांश बिरामीहरुलाई भर्ना गरेर उपचार गराइरहेका छन् ।
भोज खाएकाहरुलाई काम ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएका छन् ।
दुलाहाका साथी गैंडाकाट १ का नविन ढकालले अघिल्लो दिन दिउँसो भोज खाएपछि भोलिपल्ट बिहानबाट जन्त गएकाहरु बिरामी हुन सुरु गरेको बताए । उनले गैंडाकोटबाट जन्ती गएका स्थानीयहरु सबै बिरामी भएको जानकारी दिए ।
दुलाहाका साथी सविन लम्सालले होटलको लापरबाहीका कारण आफूहरु बिरामी हुनुपरेको बताए ।
चितवन गार्डेन रिर्साेटका व्यवस्थापक जनार्दन रिजालले बिरामी भएकाहरुलाई उपचार गराउन भरतपुरको नेस्नल सिटी अस्पतालमा भर्ना गराइएको बताए ।
उनले बिहेको पार्टी दैनिकरुपमा भइरहेको पनि बताए । त्यसदिन भोज खाएकाहरु बिरामी भएको सूचना पाएपछि आफूहरु सजग भएको र सुरुमा बिरामीको उपचारमा ध्यान दिएको प्रतिक्रिया दिए ।
बिरामीको सेवामा खटिएका नर्सहरुले अहिलेसम्मको रिर्पाेटअनुसार फुड प्वाइजन रहेको जानकारी दिएका छन् ।