काठमाडौं, मंसिर २२-
प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताएका छन् ।
उन्नाइसौँ राष्ट्रिय ज्यापु दिवस, २०७९ का अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापू समुदायको उल्लेख्य योगदान रहेको बताए ।
“ज्यापु समुदायका जात्रा पर्व, सांस्कृतिक गतिविधि र कला कौशल नेपालका अमूल्य निधि हुन्, ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, सीप र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो”, उहाँले भन्नुभयो, “यस्ता महत्वपूर्ण संस्कृति र सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु र विलीन हुनबाट जोगाउनु हामी सबैको कर्तव्य हो ।”
ज्यापु समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहँदै आएको स्मरण गरे ।
नेपालका विभिन्न समुदायमध्ये ज्यापु समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा, भाषा, संस्कृति र पहिचान बोकेका समुदायका रूपमा रहेको उनको भनाइ छ ।
“राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले पु¥याउँदै आएको योगदानलाई सबैसमक्ष उजागर गर्न, उनीहरूको संस्कृति, परम्परा र रहनसहनलाई संरक्षण र प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास लिएको छु”, उनले भने ।
दिवसले काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका ज्यापु समुदाय तथा विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ बनाउन पनि सहयोग पुग्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।