झापा, मंसिर ८-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नभई यो मामुली कुरा भएको बताएका छन् ।
धमाधम चुनावी मतपरिणाम आइरहेको बेला बिहीबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यो निर्वाचनमा स्वतन्त्र पार्टीको उदय भएको नभई यो मतपरिणाम आउनु सामान्य कुरा भएको प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘त्यो ठूलो कुरा होइन, मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो।
देशलाई गलत बाटोतिर लैजाँदै हुनुहुन्छ,’ उनले थपे, ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन। हाहाहुहुमा त देश चल्दैन। हा हुमा देश लैजाने कुरा नेपालको हितमा छैन।’
चुनावमा जितेका उम्मेदवारहरूलाई बधाई र पराजित भएकालाई सहानुभूति व्यक्त गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे ओलीले यो मामुली कुरा भएको बताए ।
ओली झापा ५ बाट निर्वाचित भएपछि विजयी सभालगायतमा सहभागी हुन आज झापा पुगेका छन् ।