काठमाडौं, कात्तिक २९–
देशका विभिन्न भागमा निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर प्रधानमन्त्री शेरवहादुर देउवा डडेल्धुरा आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुने भएका छन्। उनी कात्तिक २९ गते मंगलबार विहान काठमाडौंबाट डडेल्धुरा जाने कार्यक्रम तय भएको छ।समाचारअनुसार, आफ्नो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धीहरुबाट चुनौती थपिएको विश्लेषणका आधारमा देउवा सबैतिर छाडेर त्यता जान लागेका हुन्। सैनिक स्रोतका अनुसार, प्रधानमन्त्रीको डडेल्धुरा बसाइ अब मौन अवधि शुरु हुन्जेलसम्म हुनेछ।‘उहाँ मंसिर १ गते साँझमात्र काठमाडौं फर्किने कार्यक्रम छ,’ सैनिक स्रोतले भन्यो। मंसिर २ गतेबाट मौन अवधि शुरु हुँदैछ। प्रधानमन्त्री देउवा आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुँदा अन्यत्र तय भएका कार्यक्रमहरुमा पार्टीका अरु नेतालाई जान भनेर उनले नै आदेश दिएका छन्।
देउवाको निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट प्रतिष्पर्धा गरिरहेका युवा उम्मेद्वार सागर ढकालले निकै चर्चा बटुलिसकेका छन्। उनको प्रचार र खटाइबाट आत्तिएका देउवाका प्रचारकहरुले प्रहरी शक्तिको दुरुपयोग गरी ढकाललाई माइकिङसमेत गर्न नदिएर अवरोध खडा गरेका थिए।








