काठमाडौं, २५ कात्तिक-
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आज गठबन्धनको चुनावीसभालाई संयुक्त सम्बोधन गर्नुभएको छ ।
चन्द्रगढीमा लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति भद्रपुर वार्ड नं ७, ८, ९ र १० द्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ का उम्मेदवार शर्मा र क्षेत्र नम्बर ३ का उम्मेदवार सिटौलाले सम्बोधन गर्नुभएको हो । उहाँहरू दुवै जनाले गठबन्धन चुनावका लागि मात्र नभएर निर्वाचनपछि पनि निरन्तर रहने बताउनुभयो ।
नेता सिटौलाले मुलुकको आमूल परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा मात्र सफल भएको भन्दै क्षेत्र नं ३ बाट जनताका लागि पनि आफूले जित्नै पर्ने बताउनुभयो ।
यसैगरी काग्रेस महामन्त्री शर्माले देशमा सुशासन कायम गर्दै भ्रष्टाचार नियान्त्रण गर्न गठबन्धनको जित आवश्यक रहको बताउनुभयो । उहाँले झापा क्षेत्र नं १ को शिक्षा, स्वास्थ्यलगायतका विकास निर्माणका लागि आफ्नो जित सुनिश्चित भएको बताउनुभयो । उहाँले विगतको केपी ओली नेतृत्वमा रहेको सरकारका कारण मुलुकले विभिन्न सङ्घर्ष गरेर ल्याएको संविधान धरापमा पर्ने अवस्थामा गठबन्धनले संविधानलाई जोगाएको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाको समानुपातिकतर्फका उम्मेदवार सरिता प्रसाईं, प्रदेशसभातर्फका उम्मेदवारहरू श्यामवीर लिम्बू, गोपाल तामाङ, भूमिप्रसाद राजवंशीलगायतले संविधानको संरक्षण र विकासका लागि गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिनुभयो ।